नागढुंगा सुरुङमार्ग निर्माणको म्याद थपियो, अर्को वर्ष असारभित्र निर्माण भई सक्ने
थानकोट ।
निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन (करिब तीन महिना) थपिएको छ।
कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो। जापानी कम्पनी हाज्माले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। तर आयोजना कार्यालयलये ८६ दिन थप गर्ने भएको हो।
लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए।
यसको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। शाक्यका अनुसार हालसम्म सुरुङ खन्ने काम ५२ प्रतिशत सकिएको छ। अन्य संरचनासमेतको समग्र भौतिक प्रगति भने साढे ३६ प्रतिशत पुगेको उनले बताए।
आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ८८ मिटर छ। हालसम्म एक हजार दुई सय मिटरभन्दा बढी काम सकिएको छ। ‘इभ्याकुएसन’ सुरुङ दुई हजार पाँच सय ५७ मिटर खन्नुपर्नेमा एक हजार चार सय १९ मिटर काम भइसकेको छ।
क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ४८ मिटर खनिएको छ। एक सय २६ मिटर वर्किङ अडिटको काम सकिएको आयोजनाको भनाइ छ।
त्यस्तै, तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, दुई वटा ओभरपास, फ्लाइओभर लगायत करिब १२ वटा अन्य भौतिक संरचना निर्माण गर्नुपर्नेमा हाल १० वटा बनिसकेको शाक्यले जानकारी दिए। अब फ्लाइओभर र अन्डरपास निर्माणको काम बाँकी छ।
आयोजनाको ठेक्का १५ अर्ब र मुआब्जा ६ अर्ब रूपैयाँभन्दा बढी गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने शाक्य बताउँछन्। यो सुरुङमार्ग निर्माण २०८० असार मसान्तसम्ममा सक्ने गरी काम गरिरहेको शाक्यले जानकारी दिए।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ।
अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरुङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दावी सरकारी अधिकारीहरूको छ।
१२ मिटर चौडाइको सुरुङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एक/एक मिटरको रहने उल्लेख गरिएको छ। आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरुङ रहन्छ। सुरुङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।












