चन्द्रागिरिमा पालिएका सुँगुरहरूमा पनि अफ्रिकन स्वाइनफिभरको प्रकोप
थानकोट ।
बागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्याउन सक्ने देखिएको छ।
उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी रेकर्ड छ। सरकारी रेकर्डमा उक्त तथ्याङ्क आए पनि रेकर्डमा नरहेका यस्ता पशुहरूको सङ्ख्या दोब्बर हुन सक्ने अनुमान छ।
अफ्रिकन स्वाइनफिभरका कारण हालसम्म काठमाडौँको कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा र दक्षिणकालीमा निकै क्षति गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका प्रमुख डा. रामप्रकाश प्रधानले जानकारी दिएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
ललितपुरको गोदावरी र भक्तपुरको चांगुनारायणमा उक्त रोगका कारण धेरै सुँगुर तथा बङ्गुर मरेका हुन्।
माउ काठमाडौँ जाने र पालनका लागि पाठापाठी जिल्लातिर पठाउने गरिएका कारण अन्य जिल्ला पनि उक्त रोगको जोखिममा रहेको उनले बताए। अफ्रिकन स्वाइनफिभर एक प्रकारको भाइरसबाट लाग्ने सङ्क्रामक महामारी रोग हो।
उक्त रोगका कारण सुँगुर तथा बंगुरमा १०४ डिग्री वा त्यस भन्दामाथि ज्वरो आएको पाइएको छ । झोक्राएर बस्ने र दानापानी खान छाड्ने, सास फेर्न अप्ठेरो हुने, दिसामा रगत देखिने, कानका टुप्पा, खुट्टा तथा शरीरका अन्य भाग र विशेषगरी पेटको भागको छालामा रगत जमेका कालो-निलो डाम देखिने, बान्ता गर्ने, नाकमा रगत मिसिएको सिंगानजस्तो आउने, छेर्ने, बच्चा तुहिने, प्रायः वयस्क बंगुरमा उक्त रोगको प्रकोप बढी देखिएको र लक्षण देखिएको २-३ दिनमा मृत्यु हुने गरेको डा. प्रधानले जानकारी दिनुभयो ।
अफ्रिकन स्वाइनफिभर भाइरस बंगुर प्रजातिका पशुको काँचो मासु, फ्रोजन मासु, साँधेको मासु, सुकुटी वा राम्ररी नपाकेका मासु, मलमुत्र तथा सिनोमा महिनौंसम्म बाँच्न सक्छ । उक्त भाइरस फ्रोजन मासुमा १५ हप्तासम्म, प्रशोधित मासुमा ३ देखि ६ महिनासम्म बाँच्न सक्छ । उक्त भाइरस ६० डिग्री सेन्टिग्रेडमा ३० मिनेटभित्र निष्क्रिय हुन्छ ।












