५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना खोप, पहिलो चरणमा काठमाण्डाैसहित २७ जिल्ला समेटिने

Thankot Times

थानकोट ।

नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आइपुग्नेछ ।

फाइजर पेडियाट्रिक खोप सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।

उनका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ  । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।

महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले नेपालले खोपमा राम्रो प्रगति गरेपछि कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज खोप निःशुल्क पाउने सुनिश्चित भएको बताए ।

यो खोप निःशुल्क पाउने नेपाल पहिलो देश हो । यसअघि सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन साढे ६ अर्ब बजेट विनियोजन गरेको थियो ।

डा. मरासिनीका अनुसार पहिलो चरणमा खोप आएपछि त्रमश १० देखि १५ लाखको पटक–पठक गरी खोप ल्याइने छ ।

पहिलो चरणमा कुन-कुन जिल्लामा खोप दिइन्छ ?

महाशाखाका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं. १ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट: सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट: काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाबाट खोप पाउनेछन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *