असार ९ देखि बालबालिकालाई फाइजर खोप

Thankot Times

थानकोट ।

सरकारले असार ९ गतेदेखि बालबालिकाका लागि फाइजर खोप दिने अभियान सुरु गर्दैछ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले ५ देखि १२ वर्ष उमेर समूहलाई लक्षित गरेर खोप अभियान सुरु गर्न लागेको हो।

खोप अभियान विद्यालय केन्द्रित हुनेछ। विद्यालय परिचयपत्र, उमेर खुल्ने प्रमाणपत्र र अभिभावकको स्वघोषणालाई आधार मानेर खोप दिइने छ।

विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली वा विद्यालयले उपलब्ध गराएको परिचय पत्रलाई खोप दिने आधारका रुपमा राखिएको छ। त्यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरूको लागि उमेर खुल्ने परिचय पत्र वा निजको अभिभावकले स्वः घोषणा गरेको उमेर, दोस्रो मात्रा लिनको लागि पहिलो मात्रा लिएको खोप कार्डलाई आधार मानेर खोप अभियान सञ्चालन हुनेछ।

पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाइने खोप शाखाले जनाएको छ। पहिलो चरणमा असार ९ देखि १५ सम्म २७ जिल्ला र दोस्रो चरणमा भदौ ५ देखि ११ सम्म खोप अभियान सञ्चालन हुनेछ।

पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलानचोक, काठमाडौं, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशको  कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्ने छ।

लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र डडेलधुरामा खोप लगाइने छ।

त्यसका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकिएको परिवार कल्याण महाशाखा निर्देशक डा. विवेक लालले जानकारी दिए। उनले भने, ‘एक खोप केन्द्रमा कम्तिमा १ जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित संख्याको आधारमा थप स्वास्थ्यकर्मी खटिनेछन्। अभियानको तयारी पूरा भइसकेको छ।’

प्रत्येक खोप केन्द्रमा २ जना स्वयंसेवक (कम्तिमा १ जना अनिवार्य महिला) र प्रति २०० थप लक्षित संख्याको लागि थप १ जना स्वयंसेवक र प्रत्येक स्वास्थ्य संस्थाबाट खोप केन्द्रमा एईएफआई अनुगमन, व्यवस्थापन र सहयोगको लागि १ जना तोकिएको स्वास्थ्यकर्मी परिचालन हुनेछन्।

तोकिएका विद्यालयहरु, अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाहरुमा र अन्य तोकिएका बाह्य खोप केन्द्रहरुलाई खोप केन्द्रका रुपमा उपयोग गरिनेछ।

विज्ञहरुका अनुार कोभिड-१९ विरुद्धको यो खोप कोरोना भाइरस सार्स कोभ टुको आनुबंशिक तत्व (आरएनए) प्रयोग गरेर तयार पारिएको हो। यो खोप बायोटेक्नोलोजी कम्पनी बायोनटेकले अमेरिकी कम्पनी फाइजरको सहयोगमा तयार गरेको हो। यो खोपको नाम फाइजर-बायोएनटेक, टोजिनामेरान, कोमिरन्याटी रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *