नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले १७ वर्षीया किशोरीको पेटमा अड्किएको चम्चा
थानकोट ।
काठमाडौँको एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया निकालिएको छ । चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो ।
थापाथलीस्थित नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो ।
डा. कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गर्नुभएको छ ।
‘साइक्ट्रेकि इलनेश’ टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको डा. कुँवरले बताउनुभयो । तर, यस्तो बिरामीहरुलाई वाकवाक गरिरहनुपर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ,’ डा. कुँवरले भन्नुभयो-‘आमाशयमा गएर अड्किएको रहेछ । आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौं ।’
आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिना शल्यक्रिया निकालिएको थियो । चम्चा निकाल्ने क्रममा कतैपनि कुनै चोट वा घाउ समेत नलागेको बताइएको छ ।












