चोभार सुक्खा बन्दरगाह : आयोजना नचलेपछि ‘ट्रक पार्किङ’ स्थल बनाइँदै

Thankot Times

थानकोट ।

एक अर्ब ५३ करोड रुपैयाँको लगानीमा बनाइएको चोभार सुक्खा बन्दरगाहमा ४ महिनामा जम्मा १२ वटा कन्टेनर भित्रिएका छन् । विश्व बैंकसँग सहुलियतपूर्ण ऋण लिएर अर्बौँको लगानीमा बनाइएको बन्दरगाह चैतमा उद्घाटन भएदेखि अहिलेसम्मको अवधिमा जम्मा १२ वटा कन्टेनर सामान लिएर आएका हुन् । गत वर्ष २०७८ साल चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाह उद्घाटन गरेका थिए । त्यसयता जम्मा १२ वटा कन्टेनर भित्रिएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

अर्बौँ रुपैयाँ लगानीमा बनेको आयोजनामा खटाइएका कर्मचारी कामबिहीन बनेपछि बन्दरगाहका लागि छुट्टयाइएको जमिनमा ‘ट्रक पार्क’ (डोमेस्टिक) गर्ने योजना इन्टरमोडलले बनाएको छ । एक पटकमा ३५० वटा ट्रक र ६०० वटा कन्टेनर अट्ने क्षमता रहेको बन्दरगाहमा सोचेअनुरूप कन्टेनर नआउँदा पार्किङका लागि जमिन छुट्याउने योजना इन्टरमोडेलले बनाएको हो ।

२२० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहको आधा भाग स्वदेशमै ओहोरदोहोर गर्ने ट्रक पार्क गर्न छुट्याउने योजना बनिरहेको गजुरेलले बताए । उनले बन्दरगाहलाई आधा क्षेत्रफल र पार्किङका लागि आधार क्षेत्रफल छुट्याउने योजना भइरहेको जानकारी दिए । यसो गर्दा बन्दरगाह नचल्दा पनि सञ्चालन खर्च जुट्ने र बन्दरगाह चल्न थालेमा पार्किङको व्यवस्था हटाउने उनको भनाइ छ ।

देशका विभिन्न भू-भागबाट काठमाडौँमा मालसामान ल्याएर आउने ट्रक पार्किङमा जिम्मा दिँदा त्यसबात उठ्ने शुल्कले सञ्चालन खर्च जुटाउने योजना सरकारी पक्षले बनाइरहेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *