काठमाडौं हैजाको ‘रेड जोन’मा, संक्रमित हुनेमा युवा बढी, चन्द्रागिरिमा २ जनामा हैजाको संक्रमण
थानकोट ।
काठमाडौं उपत्यकामा गएको शुक्रबारसम्म हैजा संक्रमितको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६ देखि २० जनासम्म संक्रमित देखिएको स्थानलाई ‘रेड जोन’मा राखेको छ ।
शुक्रबारसम्म उपत्यकाका ६ पालिकामा संक्रमित देखिएको छ । काठमाडौं महानगरपालिकामा मात्र हैजाका १० संक्रमित रहेको महाशाखाले जनाएको छ ।
ललितपुर महानगरपालिकाभित्र पनि दुईजनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । यस्तै, चन्द्रागिरि नगरपालिकामा दुई, कीर्तिपुर नगरपालिकामा एक, कागेश्वरी मनोहरा नगरपालिकामा एक र बूढानीलकण्ठ नगरपालिकामा एकजनामा संक्रमण पुष्टि भएको छ ।

हैजा संक्रमित हुनेमा १५ देखि ३४ वर्षसम्मका ११ युवा छन् । पाँच वर्षमुनिका शिशुमा संक्रमण देखिएको छैन्।
दैनिकजसो घरबाहिरको खानेकुरा खाने, श्रमिक वर्ग, फिल्डमा खटिने व्यक्तिहरू धेरै संक्रमित भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । जुनसुकै स्रोतको पानी उमालेर मात्र पिउन र बाहिरको खानेकुरा सकेसम्म नखान डा. पुनको सुझाव छ ।
काठमाडौंमा लामो समयसम्म नउठाइएको फोहोरका कारण हैजा फैलाउने जीवाणुहरू पानीमा मिसिन पुगेको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाको आकलन छ । दूषित पानीका कारण हैजा मात्र नभई अरू संक्रामक रोगहरूले पनि आक्रमण गर्ने सम्भावना रहेकाले बासी तथा असुरक्षित खाना र पिउने पानीमा विशेष ध्यान दिन डा. कोइराला सुझाव दिन्छन् ।
पानी शुद्धीकरणका लागि घरमा प्रयोग गरिने फिल्टर, युरो गार्डलगायत साधन मात्र पर्याप्त नहुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रनिष्ठानका वरिष्ठ वैज्ञानिक भोजराज पन्त बताउँछन् । “घरमै प्रयोग गरिने क्लोरिने तथा विभिन्न रासायनिक पदार्थले पनि पानीलाई शुद्धीकरण त गर्छन्, तर तिनको मात्रा नमिलेमा रसायनले साइड इफेक्ट पनि गर्न सक्छ । त्यसैले सबैभन्दा उत्तम उपाय पानी ठूलो भाँडामा उमालेर सेलाउनु र प्रयोग गर्नु नै हो,” डा. पन्त भन्छन् ।












