नागढुङ्गामा सवारी साधनको नम्बर प्लेट स्क्यानर जडान गरिँदै
थानकोट ।
काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक नाका चन्द्रागिरि-२ स्थित नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।
उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने शङ्का लागेका सवारीसाधन तथा यात्रुलाई खानतलासी गर्ने काम नेपाल प्रहरीले गरिरहेको छ । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुवात गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।
नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “काठमाडौँ उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?” उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको राससमा खबर छ । मेसिनको करिब दुई करोड ५० लाख रूपैयाँ पर्ने जनाइएको छ ।

नगरप्रमुख गिरीका अनुसार स्क्यानिङ मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ । नगरप्रमुख गिरीले भन्नुभयो, “यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई समेत फाइदा पुर्याउँदछ । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैँले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौ ।”
नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरका विभिन्न विषयगत समितिका संयोजक तथा काठमाण्डाै महानगरका प्रतिनिधिहरू तथा मेयर बालेन्द्र शाहका सचिवालयका सदस्यहरूले शनिबार नागढुङ्गास्थित स्कानिङ मेसिन राखिने स्थानको अवलोकन गर्नुभएको थियो ।












