नागढुङ्गामा सवारी चालकले लागुऔषध खाए-नखाएको परीक्षण गर्दै ट्राफिक प्रहरी

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकको लागु पदार्थ सेवनको अवस्थाबारे परीक्षण गर्न थालेको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकले लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गरेर यो कार्यको थालनी गरिएको थियो ।

प्राविधिकहरुको सहयोगमा ट्याक्सी चालकलाई लागुऔषध परीक्षण गरिएपनि लागुपदार्थ सेवन गरेर ट्याक्सी चलाउनेहरु नभेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले  बताइन् ।

सवारी चालकको पिशाव ‘टेष्ट किट’मा राखेर ड्रग्स सेवनको अवस्था र मात्रा बारे परीक्षण गरिन्छ । उपत्यका ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण गर्न धुलिखेलस्थित बागमती प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालाले प्राविधिक सहयोग गरेको छ । सीमित ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण शुरु गरिएको डीआईजी चौधरीले जानकारी दिइन् । चालु आर्थिक वर्षमा लागु पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गर्न आवश्यक किट किन्न प्रहरी प्रधान कार्यालयले बजेट छुट्याएको छ ।

पिसाब परीक्षण गर्दा चालकले कति मात्रामा लागुऔषध सेवन गरेका छन् भन्नेबारे पनि थाहा हुन्छ । त्रिभुवन विमानस्थल, भक्तपुर, बल्खु, नागढुंगा र भद्रकालीमा लागु पदार्थ सेवन परीक्षण गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले साप्ताहिक कार्ययोजना बनाएर लागु गरेको छ रातोपाटी अनलाइनमा खबर छ ।

यसअघि मादक पदार्थ सेवन परीक्षण नियमित गरिएपनि उपत्यकामा लागुपदार्थ सेवन गर्नेहरुलाई नियमित परीक्षण गरिएको थिएन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *