चन्द्रागिरि केबलकारमा अड्किए इमर्जेन्सी ड्राइभबाट उद्दार, ढिला भए रिसोर्टमा बास
थानकोट ।
चन्द्रागिरि केबलकारको सञ्चालक चन्द्रागिरि हिल्सले कुनै समस्या आएर गण्डोला (यात्रु बोक्ने डिब्बा) रोकिएमा तत्कालै इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने जनाएको छ । केही साताअघि केबलकारको गण्डोला रोकिएपछि यात्रु रोकिएको विषयले सर्वत्र चासो उब्जाएको थियो । चन्द्रागिरि हिल्सले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यात्रुहरुलाई कुनै समस्या आएमा नआत्तिन आग्रह गरेका छन् ।
केबलकारमा विश्वकै सबैभन्दा उत्कृष्ट कम्पनि अस्ट्रेलियाको डुपलमेयर नामक कम्पनीको मेसिन प्रयोगमा ल्याइएकाले सुरक्षामा कुनै सम्झौता नगरिएको बताए। विद्युत सप्लाइ बन्द हुन गएमा जेनेरेटर प्रयोग गरिने र त्यो पनि नभए इमर्जेन्सी ड्राइभमार्फत उद्वार गरिने उनले बताए ।
हिल्सले गण्डोलामा रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र लामो समय रोकिएर टप स्टेशनमा रहेकाहरुलाई गाडीमार्फत उद्वार गरिने जनाएको छ । यदि गाडीमार्फत पनि उद्वार गर्न नसकिए केवलकारमा रहेको रिसोर्टमा निःशुल्क रुपमा राख्ने अध्यक्ष ढकालले जानकारी दिए।
इन्जिनियर सरोज चापागाईंले तत्कालै उद्वारका लागि इमर्जेन्सी ड्राइभमार्फत ४०-४५ मिनेटमा उद्वार गरिसक्ने बताए ।

बिहान अप्रेसन टिमले हरेक दिन परीक्षण गर्ने गरेका छौ, इन्जिनियर चापागाईंले भने “धेरै समय रोकियो भने बैकल्पिक बाटोबाट उद्वार गर्ने छौं ।” चन्द्रागिरि हिल्सका संस्थापक सदस्य अम्बिका पौडेलले विश्वको नम्बर वान कम्पनीको मेसिन जडान गरिएकाले आत्तिनु नपर्ने बताए ।












