धादिङ अस्पतालमा डायलायसिस सेवा सुरु

Thankot Times

थानकोट ।

धादिङ अस्पतालले डायलायसिस सेवा सुरु गरेको छ। बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले शनिबार एक कार्यक्रम आयोजना गरी हेमो डायलायसिस सेवा सुरु गरेको हो।

प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले डायलायसिस सेवाको उद्घाटन गरेका हुन्। अस्पतालमा सुरु गरिएको सेवा गुणस्तरीय र भरपर्दाे बनाउन आग्रह गरेका छन्। मुख्यमन्त्री पाण्डेले अस्पतालमा डायलायसिस सेवा सुरु गर्न जटिल भएको भन्दै सेवालाई गुणस्तरीय बनाउनु महत्वपूर्ण रहेको बताए।

‘सेवा सुरु गर्न जस्तै सेवा राम्रो र निरन्तरता दिन खटिनुपर्छ,’ उनले भने, ‘चिकित्सकलाई तालिम दिएर सक्षम बनाउनुपर्छ। सुरु गरिएको सेवा प्रभावकारी बनाउनु हामी सबैको दायित्व हो।’ अब बिरामी र आफन्तले डायलायसिस गराउनकै लागि काठमाडौंलगायत अन्य ठूला सहर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले भने, ‘अब धादिङका बिरामीले डायलायसिस गराउन बाहिर धाउनुपर्ने छैन्।’

बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन धादिङ अस्पतालमै डायलायसिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए, नयाँ पत्रिकामा खबर छ। चारवटा डायलायसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलायसिस गरिरहेका बिरामी लाभान्वित हुने अध्यक्ष धमलाले बताए। उनले भने, ‘अझै केही विशेषज्ञ सेवा पनि विस्तारका लागि पहल गर्दै छौँ। डायलायसिस सेवा एउटा उदाहरण हो।’

हेमोडायलाइसिस र पेरिटोनल डायलायसिस गरी मिर्गौला रोगीहरूलाई दुई प्रकारले डायलायसिस गर्ने गरिन्छ। धादिङ अस्पतालमा थालिएको हेमोडायलायसिस हो। कुनै पनि रोगका कारण मिर्गौलामा असर पर्यो भने अब धादिङ अस्पतालमा नै डायलायसिस गराउन सकिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *