केन्याविरूद्धको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिम घोषणा
थानकोट ।
नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्ता ज्ञानेन्द्र मल्लले कमब्याक गरेका छन्। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले केन्याविरूद्ध हुने सिरिज खेलका लागि मल्ललाई टिममा समेटेको हो।
नेपाली टोलीले आउँदो अगष्ट २५ देखि सेप्तेम्बर ५ सम्म केन्यासँग सिरिज खेल्नेछ। केन्यासँग नेपालले पाँच वटा टी-ट्वान्टी र तीन वटा एकदिवसीय खेल खेल्नेछ।
मल्लले युएईविरूद्धको सिरिज पछि कुनै पनि खेल खेलेका छैनन्। नेपाली टोलीमा विकेटकिपर अर्जुन साउँदले पनि पहिलो पटक स्थान बनाएका छन्।
नेपाली टोलीमा ओपनर कुशल भुर्तल र विकेटकिपर विनोद भण्डारीले यसपटक पनि स्थान पाउन सकेनन्।
नेपाली टोली: सन्दीप लामीछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, वसिर अहमद, अर्जुन साउँद, साहब आलम, किशोर महतो र विवेक यादव













