५४ जनामा हैजा संक्रमण
थानकोट ।
असार २ गतेदेखि काठमाडौंमा फैलिएको हैजा संक्रमण भदौं १ गतेसम्म आइपुग्दा ५४ जनामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट र धादिङमा गरी यस वर्ष हैजा संक्रमितको संख्या ५४ जनामा देखिएको र हाल तीन जनाको अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंका कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा हैजा देखिएको छ । ललितपुरका महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक लगायतका ठाउँमा हैजा देखिएको छ ।
त्यसैगरी, उपत्यकाबाहिर भने नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।
संक्रमित हुनेमध्ये सातजना १४ वर्षमुनिका बालबालिका छन् । परीक्षण गरिएकामा धारा, ट्युबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।












