१५ वर्षमा नेपालमा भित्रियो ७४ हजार किलो सुन
थानकोट ।
नेपालमा पछिल्ला १५ वर्षमा नेपालमा साढे तीन खर्ब रुपैयाँ बराबरको ७४ हजार किलो सुन भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष ०६४/६५ देखि ०७८/७९ सम्म ७३ हजार नौ सय ४४ किलो सुन भित्रिएको छ, जसमा तीन खर्ब ४२ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ । गरगहना निर्माण गरेर लगाउन तथा ढिका सुन सञ्चित गरेर राख्न नेपालमा सुनको खपत हुने गरेको छ । ०७८/७९ मा मात्रै ३५ अर्ब ६१ करोड रुपैयाँबराबरको पाँच हजार ५३ किलो सुन आयात भएको विभागको तथ्यांक छ ।
वार्षिक एक खर्बबराबरको सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मानिकरत्न शाक्यले बताए । विवाहलगायतका सिजनमा दैनिक ५० किलोसम्म र अफ सिजनमा दैनिक २० किलो सुनको खपत (कारोबार) हुने उनले बताए, नयाँपत्रिकामा खबर छ । अहिले राष्ट्र बैंकले दैनिक १० किलो सुन आयातको व्यवस्था गरेको छ । राष्ट्र बैंकले सिजनका वेला अधिकतम दैनिक २० किलोसम्म मात्रै सुन आयातको अनुमति दिने गरेको छ ।












