‘नगरबासीहरूको भावनामाथि कुनै खेलबाड हुनेछैन्’ – नगरप्रमुख घनश्याम गिरी (भिडियो सहित)
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले सामाजिक सञ्जालहरूमा कबाडी कर तथा घर टहरा भाडामा दिएको विषयमा आफ्नो नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
सञ्चार माध्यमबाट प्रसारित श्रव्यदृश्य सामाग्रीमा कबाडी सामानको विवरण दाखिला गर्दा र नाकाबाट बाहिर लैजाँदा सामानको विवरण फरक परेको भन्ने विषयमा कुनै व्यक्तिगत संलग्नता नरहेको र घर टहरा भाडामा दिइएको सम्बन्धी विषयललाई समेत जोडेर आफ्नो सार्वजनिक जीवनमा गम्भीर लाञ्छना लाग्ने पूर्वाग्रही भई वदनीयतपूर्ण तरिकाले सामाग्री प्रसारण गरिएको भन्दै नगरप्रमुख गिरीले त्यस्ता सामाग्रीप्रति विश्वास नगर्न नगरबासीहरूमा अनुरोध गर्नुभएको छ ।
बिहीबार भिडियो प्रेस विज्ञप्ती जारी गर्नुहुँदै नगरप्रमुख गिरीले आफ्नो चार दशकको राजनीतिक यात्रा विवादरहित, निष्पक्ष, निस्कलंक रहेको व्यहोरा आम नगरबासीहरूमा सर्वविदितै रहेको र नगरप्रमुखको जिम्मेवारी बहन गर्दा विगतमा पनि नगरबासीहरूमा शिर निहुरिने कार्य नगरेको र भविष्यमा पनि कुनै किसिमले शिर निहुरिने कार्य नहुने स्पष्ट पार्नुभएको हो ।














