आज बिहान ५ बजे सकियो समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम

Thankot Times

थानकोट ।

मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम आज (मंगलबार) बिहान ५ बजे मात्रै सकिएको छ।

निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार दुई दिन समय दिएको थियो। तर पहिलो दिन, आइतबार जम्मा २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठूला दल मंगलबार अपरान्हपछि मात्रै निर्वाचन आयोग पुग्दा बन्दसूची रूजु गर्नेलगायत काममा ढिलाइ भएको थियो। त्यसकारण आयोगले गए राति पनि काम जारी राख्यो। आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले उम्मेदवारको बन्दसूची लिने काम आज बिहान मात्रै सकेको छ।

प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचनमा भाग लिन ६८ वटा दलले निवेदन दिएका थिए। तर ४८ वटा दलले मात्रै आज बिहानसम्म बन्दसूची बुझाएका छन्। अब बन्दसूची बुझाउन मिल्दैन।

आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरूप्रसाद वाग्लेले ४८ दलबाट मात्रै समानुपातिक उम्मेदवारको बन्दसूची प्राप्त भएको बताए सेताेपाटी अनलाइनमा खबर छ।

‘समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएकोमा जम्मा ४८ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका छन्,’ उनले भने।

प्रदेश सभातर्फ समानुपातिकमा प्रदेश नम्बर १ मा ३६ वटा दलले उम्मेदवारको बन्दसूची पेश गर्दा मधेश प्रदेशमा ३६ दलले उम्मेदवारको सूची बुझाएका छन्।

यस्तै बागमतीमा ४१, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८ र सुदूरपश्चिम प्रदेशमा ३४ दलले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

अधिकांश दलहरूले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना उम्मेदवारको नाम पेश गरेका छन्।

आयोगले आजदेखि असोज ९ गतेससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्न सूचित गर्छ भने असोज १० देखि १६ गतेसम्म संशोधन गरी उम्मेदवार सूची पेश गर्न समय दिन्छ।

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ गते गर्ने तालिका बनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *