पदावधि सकिएपछि बागमती प्रदेश सभामा ४ नेताले गाडी फिर्ता गरे, ४ नेताको बाँकी
थानकोट ।
बागमती प्रदेश सभाका सदस्यहरूले प्रदेश सभाबाट प्राप्त गरेका सेवा सुविधा कार्यकाल सकिँदासमेत फिर्ता नगरेको पाइएको छ । २०७४ साल माघ ७ गते प्रदेश सभा सदस्यको सपथ लिएपछि पदीय सुविधास्वरूप प्रदेश सभा सचिवालयबाट प्राप्त गरेका गाडी हालसम्म फिर्ता नगरेका हुन् ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै प्रदेशसभा सचिवालयले गत शनिबार बिदाइसमेत गरेको थियो । प्रदेश सभाको कार्यकाल गत शनिवार मध्यरातिबाट सकिएको थियो ।
हालसम्म प्रदेशसभामा विषयगत समितिका निवर्तमान सभापति, दलका नेता र प्रमुख सचेतकहरू गरी ४ जनाले मात्र आफूले सुविधाबापत प्राप्त गरेको सवारी-साधन फिर्ता गरेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक रहेका दीपक निरौला, नेकपा समाजवादीका प्रमुख सचेतक मुनु सिग्देल, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति केशवप्रसाद पोखरेल र अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवालले मात्र मंगलबारसम्म गाडी फिर्ता गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल, सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठ, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगर र विपक्षी दलको नेता अष्टलक्ष्मी शाक्यले गाडी फिर्ता गर्न बाँकी रहेको छ ।
प्रदेश सचिवालयका एक कर्मचारीले भने, ‘भर्खरै समयावधि सकिएको छ । कतिपय प्रदेशसभा सदस्यहरू अस्तिको सचिवालयको कार्यक्रममा पनि अनुपस्थित हुनुहुन्थ्यो आउने क्रम जारी छ ।’
गाडी सुविधा फिर्ता नगरिएको विषयमा थानकोट टाइम्सले काठमाण्डाै क्षेत्र नं. १० ख का प्रदेश सांसद् रमा आले मगरलाई जिज्ञासा राख्दा उहाँले उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति हैसियतमा आफुले प्राप्त गरेको गाडी प्रदेश सचिवालयमा फिर्ता पठाइसकिएको जानकारी दिनुभयो । उहाँले गाडी सुविधा फिर्ता भई आवश्यक प्रकिया जारी रहँदा फरफारक गर्न बाँकी रहेको बताउनुभयो ।












