सभामुख र उपसभामुखले तत्काल सरकारी गाडी फिर्ता गर्नु नपर्ने
थानकोट ।
गत असोज १ गतेदेखि प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल अन्त्य भए पनि प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिसम्मले सवारी साधन र जिन्सी सामान फिर्ता गरेका छैनन् । आफ्नो कार्यकालका लागि संघीय संसद् सचिवालयले संसद्का पदाधिकारीका लागि सवारी साधन र कम्प्युटरको सुविधा दिने गरेको छ ।
यद्यपी निर्वाचन भएर अर्को प्रतिनिधि सभा बन्नु अगाडिसम्म सभामुख र उपसभामुखको पद कायम रहेन संविधानमा व्यवस्था छ । यदि सभामुख र उपसभामुखले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा उम्मेदवारी दिने हो भने उनीहरू पदमुक्त हुने व्यवस्था रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १२६८ नम्बर र ८२८३ नम्बरको २ वटा गाडी प्रयोग गरिरहेका छन् । यस्तै उनले संसद् सचिवालयबाट एउटा डेल कम्पनीको ल्यापटप, सामसुङ ग्यालेक्सी फोन र एउटा ब्रिफकेश सुविधा पाएका छन् ।
यस्तै उपसभामुख पुष्पा भुसाल गौतमले पनि एउटा गाडी, ल्यापटप, मोबाइल र ब्रिफकेश सुविधामा पाएकी छिन् ।
सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका प्रेस सहयोगीका लागि क्यामेरा सुविधा दिइएको सचिवालयले जनाएको छ ।













