नेपाल र बंगलादेशबीचको फ्रेन्ड्ली म्याच आज, टिकट शुल्क ५ सयदेखि ५ हजारसम्म

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ। किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोली र जमल भुयनको कप्तानीमा रहेको बंगलादेशी टोली साँझ साढे ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

नेपालले खेलेको पछिल्लो खेल हो एसिया कप छनोट। इण्डोनेसियासँगको भएको पछिल्लो खेलमा ७-० ले पराजय व्यहोर्दाको नेपाली टिम र अहिलेको टिम धेरै फरक छ। तत्कालीन प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर १० खेलाडीबिचको टसलले गर्दा पहिलो रोजाइमा उत्रँदै आएका खेलाडीलाई टिमबाहिरै राखेर नेपाली टोली एसिया कप छनोट खेल्न गएको थियो। अहिले सन्दर्भ फेरिएको छ।

एन्फाको नेतृत्व फेरिएको छ। प्रशिक्षक फेरिएका छन्। टिममा पछिल्लो खेलमा नअटाएका खेलाडी फर्किएका छन्। पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दै गरेका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले तयारी राम्रो भएको भन्दै जितसँगै नेपालमा दशैँको माहोल राम्रो बनाउन चाहेको खेलअघिको पत्रकार सम्मेलनमा बताए।

‘खेल जितका लागि खेल्ने हो। त्यसबाहेक के होला भन्ने सोचेको छैन,’ उनले भने।

हुमागाइँले आफू नेपाली फुटबल सँगसँगै रहेको बताउँदै थ्री स्टार क्लबमा प्रशिक्षण गराएको स्मरण गरे।

‘यही पेरिफेरिमा आजभन्दा १२ वर्षअगाडि यही महिनातिर म थ्री स्टारमा इङ्गेज भएको थिएँ। त्यतिबेला किरण गोलकिपर थिए। अहिले पनि किरण नै छन्,’ उनले भने, ‘मात्र वर्ष बित्यो होला। युवा थियो, अली बुढो भइयो होला। थ्री स्टारमा भए पनि, राष्ट्रिय टोलीमा भए पनि ड्युटी भनेको ड्युटी हो। मैले सहज रुपमा लिएको छु।’

त्यस्तै, नेपाली टोलीका कप्तान किरण चेम्जोङले एसिया कप छनोट २०२३ मा आफू नआएको नभएर नबोलाइएको बताएका छन्। किरणले राष्ट्रिय टोलीमा आफ्नो लागि मात्र नभएर देशका लागि खेल्न आएको भन्दै राष्ट्रिय टोलीमा गुट नभएको बुझ्न आग्रह गरे।

‘नआएको होइन निकालिएको भन्नुस न। बोलाइएन होइन। राष्ट्रिय टोलीमा गएपछि देशका लागि खेल्ने हो ग्रुपिजम बनाएर हिँड्ने होइन। हामी देशका लागि खेल्न आएको हौँ,’ चेम्जोङले भने, ‘राष्ट्रिय टिममा प्रतिनिधित्व गरेपछि किरण चेम्जोङको मात्र नाम आउँदैन, राष्ट्रको नाम आउँछ।’

अर्कोतर्फ बंगलादेशका कप्तान जमल भुयनले महिला साफ च्याम्पियनसीपमा बंगलादेशी महिला टोलीले यही महिना काठमाडौंमै च्याम्पियन भएर इतिहास बनाएको भन्दै आफूहरुले त्यसलाई दोहोर्‍याउन चाहेको बताए।

‘हामीले यहाँ यसअघि पनि खेलिसकेका छौं। यहाँ घरेलु समर्थक हुनेछन्,’ उनले भने, ‘हाम्रो महिला टोलीले यहाँ इतिहास बनाए, हामी दोहोर्‍याउन चाहन्छौं।’

यी दुई टोलीको पछिल्ला भेटहरुमा नेपाल हाबी भएको प्रसंगमा उनले आफूहरु इतिहासमा नभएर अगाडिको खेलमा केन्द्रित भएको बताए। यसका लागि एक महिना यता ट्रेनिङ गरिरहेको र कम्बोडियासँग खेलेर जित निकालेकोले नेपालसँगको खेलका लागि आफूहरु तयार रहेको उनले बताएको पहिलो पोष्टमा खबर छ।

‘त्यो इतिहास हो, हामी अगाडिको खेलमा केन्द्रित छौं,’ उनले भने।

त्यस्तै, बंगलादेश टोलीका प्रशिक्षक जाभियर फर्नान्डेज कब्रेराले नेपालसँगको खेल सधैं प्रतिस्पर्धात्मक भएको भन्दै कम नआँकेको बताए।

‘यो धेरै प्रतिस्पर्धात्मक खेल हुनेछ। यसका लागि हामी तयार छौं,’ उनले साफ र थ्री नेशन्स कपमा भएको प्रतिस्पस्पर्धात्मक खेलको उदाहरण दिँदै भने।

बंगलादेश र नेपालबिचको पछिल्लो भेटमा साफ च्याम्पियनसीपमा १-१ गोलको बराबरी खेलेका थिए। त्यसअघि थ्री नेशन्स कपमा नेपालले बंगलादेशलाई २-१ गोलले हराउँदै च्याम्पियन बनेको थियो।

एन्फाले आजको खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार र पाँच हजार टिकट शुल्क तोकेको छ। महिला साफमा ३ सय र ५ सय टिकट शुल्क तोकिएकोमा एन्फाले यसपाला शुल्क बढाएको हो। खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने बताइएको छ।

२३ सदस्यीय नेपाली  टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट

फर्वार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ