थानकोट क्षेत्रमा यान्त्रिक जाँच, २० वटा सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा
थानकोट ।
सोमबार दिउँसो थानकोट क्षेत्र गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा २० वटा सवारी साधन कारबाहीमा परेका छन् ।
अवस्था ठिक नभएका विङगर, हाईस र टाटासुमो लगायतका २० ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २० वटा सवारी साधनलाई कारबाही गरिएको र १६ ओटालाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नियन्त्रणमा लिइएका १६ वटा सवारी साधनलाई आवश्यक कारबाहीको लागी यातायात व्यवस्था विभाग पठाइएको छ ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न सोमबार दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको थानकोट क्षेत्रमा खटिएको थियो ।
अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले भदौ १५ गतेदेखि अभियानकैमा रुपमा सवारी साधनको चेक जाँचमा तीव्रता दिँदै आएको छ ।













