थानकोट रूटका सार्वजनिक यातायातका चालक र सहचालकका लागि पाक्षिक रूपमा अभिमुखिकरण
थानकोट ।
थानकोट रूटमा सञ्चालन हुने सार्वजनिक यातायातका चालक र सहचालहकरूका लागि पाक्षिक रूपमा अभिमुखिकरण सञ्चालन गरिने भएको छ ।
शुक्रबार चन्द्रागिरि नगरपालिकाको कार्यालयमा थानकोट रूटमा सञ्चालन हुने यातायात सेवा प्रदायकका प्रतिनिधिहरू, चन्द्रागिरि नगरका नगरप्रमुख तथा उपप्रमुख, प्रहरी वृत्त थानकोटका प्रमुख, सशस्त्र प्रहरी बलका प्रतिनिधि, ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा, ट्राफिक प्रभाग थानकोटका प्रमुख लगायतको संयुक्त बैठकले यस क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक यातायात थप व्यवस्थित र यात्रुप्रति गरिने व्यवहार मर्यादित बनाउने विषयमा छलफल भएको थानकोट नगर यातायातका अध्यक्ष मन्जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
सो क्रममा सार्वजनिक यातायातमा अनिवार्य रूपमा फोहोरदानी राख्नुपर्ने नगरपालिकाको नियम कडाइका साथ कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
थानकोट नगर यातायात, चन्द्रागिरि यातायात, रिद्धसिद्धी यातायात, जनता यातायात, राजधानी यातायात, दहचोक यातायात, साझा यातायात लगायतका यातायात व्यवसायीका प्रतिनिधिहरूले चाडपर्वका अवसरमा यात्रुहरूको भावना अनुसारको सेवा दिन आफुहरू प्रतिबद्ध रहेको धारणा राखेका थिए ।













