उपत्यका छाड्ने बढ्दै, नागढुङ्गाकाे जाम गुर्जुधारासम्म
थानकोट । नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम गुर्जुधारासम्म आइपुगेको थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्मेहम्मे परिरहेको सडकमा देख्न सकिन्छ । हिन्दूको महान पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौँका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ । पोका/पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ ।
ट्राफिक प्रहरीका अनुसार असोज १० गते आठ हजार सात सय २९ वटा सवारी साधनमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधनमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिएका थिए । असोज ११ गते आठ हजार चार सय २७ सवारी साधनबाट ४५ हजार ३३ यात्रु भित्रिएकामा ९ हजार एक सय ६१ सवारी साधनबाट ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ, राससकाे खबर छ ।
यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनबाट ४५ हजार दुई सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारी साधनबाट ७१ हजार ७६३ यात्रु बाहिरिएका थिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारी साधन मार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारी साधनमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए ।
असोज १४ गते शुक्रबार भने सात हजार ४६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ । यो प्रहरीले अभिलेख गरेको सार्वजनिक सवारी साधनमार्फत यात्रु भित्रिएका र बाहिरिएकाको विवरण हो । यसबाहेक पनि मोटरसाइकल तथा अन्य निजी सवारी साधनमार्फत बाहिरिने यात्रुको सङ्ख्या ठूलो रहेको ट्राफिक प्रहरीले जनाएको छ ।















