ट्राफिक प्रहरीको विशेष चेकिङ टोली परिचालन, थानकोटमा पनि हुँदैछ कडा चेकिङ
थानकोट ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैं लगायत चाडपर्व सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरेको छ।
दसैं, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना बनाएको हो जस अनुसार प्रहरीले विशेष चेकिङ टोली खटाएको छ। सादा र सिभिल पोशाकमा गरेर काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ६८ ट्राफिक प्रहरी दैनिक फिल्डमा खटिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टराईले बताए।
हाल काठमाडौं उपत्यकाभित्र ११ सय ट्राफिक प्रहरीको दरबन्दी भए पनि १७ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन्। चाडपर्वमा हुने ट्राफिक नियम उल्लङ्घनलाई मध्यनजर गर्दै तीन जिल्लाहरूमा ७१ स्थानमा चेकिङको व्यवस्था गरिएको छ।
दसैंमा ओभर लोड, छतमा यात्रा गर्ने, मापसे गरेर सवारी चलाउने कार्यलाई नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा चेकिङ टोली खटाएको छ।
पुरानो बसपार्क, गौशाला, कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बाइपास, थानकोट, जगाते, फर्पिङलगायतका स्थानमा ट्राफिक प्रहरीको विशेष चेकिङ टोली खटाएको छ।
ट्राफिक प्रहरीले मापसे, सार्वजनिक सवारीमा बढी यात्रु राख्ने, तीव्र गति, लेन अनुशासन लगायतका बारेमा अनुगमन तथा कारबाही गर्नेछ। त्यस्तै, काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने नाकामा लामो दुरीका सार्वजनिक सवारीमा दुई जना चालक राखेको नराखेको विषय प्राथमिकतामा राखेर चेकिङ गर्ने भएको छ।
फाइल तस्बिर















