आम निर्वाचन २०७९: दशैंको टीका लगाएपछि मात्रै एमालेको टिकट वितरण
थानकोट ।
मंसिर ४ का लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ।
अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा जाँदैछन् । ‘दशैंको अघिल्लो दिन सधैं अध्यक्ष कमरेडले झापामा बृहत चियापान राख्ने गर्नुभएको छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको रिजालले बताए ।
‘अरु नेताहरू पनि दशैं मनाउन गृह जिल्ला पुग्नु भएको छ’, रिजालले भने, ‘महासचिव शंकर पोखरेल दाङ पुग्नुभएको छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल हुनुहुन्छ ।’ अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दशैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुने उनले बताए ।













