प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

Thankot Times

थानकोट ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।

आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका छन्। 

उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे।

निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ।

निर्वाचन आयोगले काठमाण्डाै क्षेत्र नंं. ९ का लागि नागार्जुन नगरपालिका तथा क्षेत्र नंं १० का लागि कीर्तिपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *