उम्मेदवारी दर्ता आज, २५ जनाभन्दा धेरैको संख्यामा नआउन दलहरूलाई आयोगको आग्रह

Thankot Times

थानकोट । 

मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज  उम्मेदवार दर्ता गर्ने कार्यसूची रहेको छ । 

निर्वाचन आयोगले  आजका लागि तोकिएको कार्यसूचीअनुसार आज मनोनयन दर्ताको कार्यक्रम गर्न लागेको हो । 

आयोगले तोकेको मंसिर ४ गते हुने आम निर्वाचनको निर्वाचनको कार्यतालिका अनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । 

उनले उम्मेदवारी मनोनयनको सबै तयारी पूरा भएको जनाएका छन् ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्ति, सुरक्षा सहित सबै व्यवस्थापन पूरा गरिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले बताएका छन् ।

त्यस बाहेक निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्नसमेत उनले विशेष आग्रह गरेका छन् ।  

यसैबीच आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिताको पूर्णरूपमा पालना गर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गरेका हुन् । 

आयोगले शनिवार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरूलाई रोक लगाइएको जानकारी दिए । 

अन्य निर्वाचन क्षेत्रमा कुनै काम विशेष जान पर्‍यो भने आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा उल्लेख गरिएको उनको भनाई थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *