आम निर्वाचनः २०७९, आज उम्मेदवारी मनोनयन विरूद्ध उजुरी दिन सकिने
थानकोट ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने विरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ। निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि-१६ बमोजिम उजुरी दिन सकिनेछ ।
उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै उम्मेदवार वा निजको प्रतिनिधिले उजुरी दिन सक्नेछन् । कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले सो उजुरी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची-१७ बमोजिमको दर्ता किताबमा दर्ता गरी निर्देशिकाको अनुसूची-१८ बमोजिमको भर्पाइ सम्बन्धित उजुरीकर्तालाई दिनुपर्नेछ ।
निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि सो म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण उक्त निर्देशिकाको अनुसूची-१९ बमोजिम तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नुपर्नेछ ।
यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो सो पक्षले सो सूचनामा तोकिएको समयमा प्रमाणसहित उपस्थित हुनुपर्ने व्यहोरा समेत उल्लेख गर्नुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सो को सूचना पाएको मानिनेछ ।













