‘फेसबुक बुस्ट’ को खर्च पनि निर्वाचन खर्चमा समावेश हुने

Thankot Times

थानकोट । 

सामाजिक सञ्जालमा उम्मेदवारहरूले प्रचार सामाग्री विदेशी मुद्रा खर्चिएर धेरै भन्दा धेरै प्रयोगकर्तासमक्ष पुर्याउन थालिसकेका छन् । यस कुरालाई मध्यनजर गर्दै निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार निर्वाचन खर्चमा समावेश गर्ने निर्णय गरेको जनाएको छ ।

‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरणसमेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइसकेको छ ।

आयोगको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रका लागि २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा २ हजार २९१ पुरुष र २३५ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभातर्फ ३ हजार ४७६ जनाले उम्मेदवारी दर्ता गराउँदा ३ हजार १७८ पुरुष, २९७ जना महिला र एक जना अन्यले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रसार र विज्ञापन गर्न थालिसकेका बेला आयोगले यस्तो निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ