अस्ट्रेलियामा बाढी: एक महिनामा पर्ने पानी एकैदिन पर्‍यो, सयौं घरमा क्षति

Thankot Times

थानकोट । 

अस्ट्रेलियाको तीनवटा राज्यमा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। निरन्तरको वर्षाका कारण बाढी आएपछि स्थानीय प्रशासनले नागरिकहरुलाई सो क्षेत्रबाट अन्यत्र जान निर्देशन दिएको हो।

अक्टरबर महिनाभर पर्ने पानी २४ घण्टामा अस्ट्रेलियामा परेको त्यहाँको मौसम विभागले जनाएको छ। बाढीका कारण ५०० भन्दा बढी घरमा क्षति पुगेको छ। हालसम्म एकजनाको मृत्यु भएको र कयौं बेपत्ता रहेको बताइएको छ। यो वर्षमात्रै बाढीका कारण अस्ट्रेसलियामा २० जनाको मृत्यु भइसकेको छ।

बाढीबाट सबैभन्दा बढी प्रभाव भिक्टोरिया राज्यमा परेको छ। यहाँका धेरै ठाउँ खाली गर्न नागरिकलाई निर्देशन दिइएको छ। मेलबर्नका केही क्षेत्रबाट पनि मानिसहरुलाई अन्यत्र जान भनिएको छ।

बाढीका कारण शहर र घरहरु जलमग्न भएका छन्। ३ हजारभन्दा बढी घर बिजुली सेवा बिहीन भएका छन्। प्रभावित घरको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

नदीहरुको जलसतह बढ्दा तासमानियामा पनि बाढी गएको छ। न्यू साउथ वेल्समा पनि ६०० जनालाई घर छाडेर अन्यत्र जान भनिएको छ। आउने दिनमा थप वर्ष हुन सक्ने भन्दै सतर्क रहन भनिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *