स्वदेशी बिजुलीबाटै तिहारको उज्यालो

Thankot Times

थानकोट । 

भोलि लक्ष्मीपूजाका दिन साँझमा देशभर नै घर-घरमा झिलिमिली बत्ती बालेर दीपावली हुनेछ । त्यसदिन नेपाल विद्युत् प्राधिकरणलाई विगतको जस्तो बिजुलीको माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने होला भन्ने चिन्ता छैन् । किनकि नेपालमै उत्पादन हुने बिजुलीको परिमाण दीपावलीका लागि पर्याप्त छ ।

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ दीपावली स्वदेशी बिजुलीकै खपत गरेर मनाइने बताउँछन् । ‘तिहारमा हामी नियमित ढंगले भारतमा भइरहेको बिजुली निर्यात पनि गर्छौं,’ उनी भन्छन्,’नेपालकै बिजुलीले तिहारमा माग धानिन्छ ।’ अहिले प्राधिकरणले विभिन्न आयोजनाबाट ३७४ मेगावाट बिजुली नियमित रुपमा भारतमा बेचिरहेको छ ।

लक्ष्मीपूजाकै दिनमा पनि बिजुलीको माग धान्न कुनै समस्या नपर्ने र आन्तरिक खपत भएर बिजुली बढी हुने भएकाले भारततर्फ निर्यात पनि भइरहने घिसिङको भनाइ छ । घिसिङअनुसार नेपालका सबै आयोजनाहरुले अहिले कुल २ हजार २ सय ५ मेगावाट बिजुली उत्पादन गर्न सक्छन् । अहिले नदीनालामा पानीको सतह पनि नघटेको र बाढी समेत नआएकोले विद्युतको उत्पादन अरु बेलाभन्दा राम्रो छ ।

तर, देशभित्र हुने अपत उत्पादन क्षमताअनुसार छैन । अहिले विद्युतको उच्चतम माग करिब १ हजार ८ सय मेगावाट मात्रै छ । अझ तिहारमा उद्योगधन्दा बन्द हुँदा यस्तो माग अधिकतम १४ सय मेगावाटमा सीमित हुनसक्ने प्राधिकरणको प्रक्षेपण छ ।

तस्बिरः प्रकाश गोपाली । रवीद्र घिमिरे, अनलाइन खबर


Leave a Reply

Your email address will not be published. Required fields are marked *