लक्ष्मीपूजामा स्वदेशी बिजुली, ७ सय प्राविधिक स्ट्याण्डबाइ, बत्ती गएमा बढीमा ३० मिनेटमा पुनः सुचारू

Thankot Times

थानकोट । 

लक्ष्मीपूजाको साँझ देशभर झिलिमिली बत्ती बल्छ । तिहारलाई यसैपनि उज्यालो चाडका रूपमा लिइन्छ । त्यसमध्ये धनकी देवी लक्ष्मी भित्र्याउने दिन अर्थात लक्ष्मीपूजामा देशभर झिलिमिली बत्ती बालिन्छ । यस्तो अवस्थामा सामान्य अवस्थाको तुलनामा देशभर बिजुलीको माग र खपत बढ्छ ।

सपटकको तिहारमा बिजुली बत्तीको सहज आपूर्ति भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार लक्ष्मीपूजाको साँझ बिजुलीको व्यवस्थापनमा चाप नपर्ने बताए । नेपालमा उत्पादन नै १८ सय मेगावाट आसपास रहेको र लक्ष्मी पूजामा मुस्किलले १३ सय मेगावाट माग हुने भएकोले माग व्यवस्थापनमा समस्या नहुने उनको भनाइ छ ।

प्राधिकरणले लक्ष्मी पूजामा विद्युत आपूर्तिमा समस्या नआओस भनेर प्रत्येक वितरण केन्द्रमा दक्ष प्राविधिक जनशक्तिलाई स्ट्याण्डबाइ राखेको छ । कुनै कारणबस विद्युत आपूर्तिमा समस्या उत्पन्न भए तत्काल आपूर्ति सुचारु गर्नको लागि देशभरका प्रत्यक वितरण केन्द्रमा ५ देखि ७ जनाको दरले प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । यसो गर्दा देशभरमा करिब ७ सय जनशक्ति परिचालन हुने उनको भनाइ छ ।

प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित गराउने प्रमुख लक्ष्य लिएको छ । कुनै पनि कारणवश कुनै पनि क्षेत्रमा विद्युत आपूर्तिमा समस्या उत्पन्न भएमा उपभोक्ताले वितरण केन्द्रमा फोन गरेको आधा घण्टाभित्रमा विद्युत आपूर्ति नियमित गर्ने गरी जनशक्तिदेखि अन्य व्यवस्थापकीय प्रबन्ध गरिएको प्रवक्ता भट्राईले जानकारी दिए ।

यस्ता वितरण केन्द्रहरुमा सवारी साधन तथा अन्य उपकरण सहितको जनशक्ति उपलब्ध गराइसकिएको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *