नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ: संस्कृतिमन्त्री

Thankot Times

थानकोट । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई प्रवर्द्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् ।

चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । 

नेपाल संवतले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै मन्त्री श्रेष्ठले सरकारले नेपाल संवतलाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए ।

नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजका रुपमा रहेको नेपाल संवतको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल संवतको प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
 
प्रगतिशील सामाजिक अभियानकर्मी तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुआत गरेका थिए ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक संवत् प्रचलनमा ल्याउने कार्यको मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले यसअघि नेपाल संवतलाई राष्ट्रिय मान्यतासमेत दिइसकेको छ ।

साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकाले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *