काठमाडौं-१०: ह्याट्रिक दाउमा राजेन्द्र, एमालेका हिमेश र माओवादीकी अञ्जना पहिलोपटक प्रतिस्पर्धामा

Thankot Times

थानकोट । 

संविधानसभाको दोस्रो चुनाव २०७० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर संसदीय यात्रा थालेका कांग्रेसका राजेन्द्रकुमार केसी (राजन) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट लगातार तेस्रो जित दर्ज गर्ने चुनावी अभियानमा जुटेका छन् ।

तर, मुलुकभर केसी संलग्न पार्टी कांग्रेस र माओवादी केन्द्रलगायतका दलहरूबीच पाँच दलीय गठबन्धन हुँदा काठमाडौं १० मा भने छैन् । गठबन्धनमा रहेका दुई ठूला दलहरूले आ-आफ्ना उम्मेदवार खडा गरेर ‘मित्रवत प्रतिस्पर्धा’ गरिरहेका छन् ।

सांसदमा ह्याट्रिक गर्ने प्रयासमा रहेका राजेन्द्रकुमारसहित यसपटक गठबन्धनमा रहेको माओवादी केन्द्रकी अञ्जना विशंखे, एमालेका हिमेश केसीसँगै १८ उम्मेदवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को चुनावी मैदानमा उत्रिएका छन् ।

काठमाडौं- १० मा २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन रहेका बेला पनि कांग्रेसका राजेन्द्र निर्वाचित भएका थिए । उनले २४ हजार १९० मत प्राप्त गर्दा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले २१ हजार ९०७ प्राप्त गरेका थिए । १५ उम्मेदवारमध्ये विवकेशील साझा पार्टीका प्रदीप ढकालले २ हजार ३ मत प्राप्त गरेका थिए भने मालेका कृष्णकुमार श्रेष्ठले १ हजार ७ सय ५७, नयाँ शक्ति पार्टी नेपालका पञ्चलाल महर्जनले १ हजार १९५ मत पाएका थिए ।

काठमाडौं-१० बाट २०७० देखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका केसी ह्याट्रिक जितको खोजीमा छन् । ६४ वर्षीय उनलाई रोकेर आफू संसद् प्रवेश गर्नका लागि एमालेका ३९ वर्षीय उम्मेदवार हिमेश केसी, माओवादी केन्द्रकी अन्जना विशंखे, राप्रपाका बलराम थापासहित १८ उम्मेदवार चुनावी मैदानमा छन् । जसमा नेमकिपाका नारायण महर्जन, मौलिक जरोकिलो पार्टीकी सृजना बर्तौला, हाम्रो नेपाली पार्टीका इन्द्रबहादुर बराल, नागरिक उन्मुक्ति पार्टीका कुमार लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पूर्णलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका धनकेशर सूर्यवंशी, नेपाली कांग्रेस (बीपी)का सन्तप्रसाद श्रेष्‍ठ, विवेकशील साझा पार्टीका सनन श्रेष्‍ठ, आमूल परिवर्तन मसिहा पार्टी, नेपालका चेतबहादुर मुक्तान, नेपाल आमा पार्टीका गंगाप्रसाद भेट्वाल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्ट उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार दिनेहरूमा राजकुमार थापा, रामबाबु ठाकुर र तिलकबहादुर रिज्याल रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामलाई आधार भन्ने हो भने काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र र एमालेका हिमेशबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दक्षिणकाली र कीर्तिपुर नगरपालिका पूरै तथा चन्द्रागिरी नगरपालिकाका वडा नम्बर २ देखि ११ सम्म यो निर्वाचन क्षेत्रमा पर्छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट यी तीनवटै नगरपालिकाको नेतृत्वको कांग्रेसले लिएको छ । यी तीन वटै नगरपालिकाका अधिकांश वडाहरूको नेतृत्व पनि कांग्रेसको हातमा छ ।

स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले प्राप्त गरेको मत जोड्दा कांग्रेसको २४ हजार ६७५ मत हुन आउँछ भने दोस्रो नम्बरमा रहेको एमालेले १८ हजार ८३८ मत प्राप्त गरेको थियो । यस आधारमा कांग्रेसको एकल रुपमा एमालेको तुलनामा ७ हजार १६१ मतले बढी देखिन्छ । यो निर्वाचन क्षेत्रका केहीमात्रै वडाहरूमा उम्मेदवारी दिएको तर अहिले एक्लै चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रका उम्मेदवारहरूको मत जोड्दा ४ हजार ९४२ हुन आउँछ भने राप्रपाका उम्मेदवारहरूले २ हजार ४९६ मत प्राप्त गरेका थिए । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरूले १ हजार ३४२ मत प्राप्त गरेका थिए ।

काठमाडौं-१० मा गठबन्धन नहुनुको कारण माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत खस्किनु रहेको राजेन्द्रले बताएका छन्, इकान्तिपुरमा खबर । माओवादीले आफ्नो जनमतभन्दा बढी भाग खोज्दा सहकार्य गर्न नसकिएको उनले बताए । माओवादीले काठमाडौं -१० प्रदेशसभा १ तर्फ आफूले उम्मेदवार हुनुपर्ने माग गरेको थियो । दक्षिणकाली र कीर्तिपुर क्षेत्र पर्ने काठमाडौं १० (१) का वडा र नगरपालिका नेतृत्व आफ्नो भएको अवस्थामा दिन नसकिने भनेर केसीले नै माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवालाई बताएको र त्यसपछि दुवै दलबाट उम्मेदवार हुने तय भएको बताए । ‘माओवादीले युद्धकालमा सेल्टर बसेको क्षेत्र पनि भएकाले काठमाडौं १० (१)मा आफ्नो उम्मेदवार हुनुपर्ने भनेको थियो । स्थानीय तह निर्वाचनमा अधिकांश वडा र दुवै नगरपालिकाको नेतृत्व हाम्रो भएकाले तथा माओवादी र एकीकृत समाजवादीको मत खस्किएको भएकाले दिन सकिन्न भनेर नेतृत्वलाई बताएको थिएँ,’ केसीले भने, ‘त्यसपछि सभापति देउवा र माओवादी अध्यक्ष दाहाल बसेर यो निर्वाचन क्षेत्रमा आ-आफ्ना उम्मेदवार बनाउने सहमति भएको हो ।’

माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अञ्जना विशंखेले भने कांग्रेस उम्मेदवार केसीको अडानका कारण नै गठबन्धन हुन नसकेको बताइन् । ‘देशभर गठबन्धन हुँदा राजन केसीको दम्भले काठमाडौं-१० मा हुन सकेन । एमालेको उम्मेदवार मैले ल्याएको हो, मलाई सहयोग गरिहाल्नुहुन्छ । त्यसो हुँदा गठबन्धन नमिलाए पनि जित्छु भन्नुभएकाले नभएको हो,’ उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा माओवादी र एकीकृत समाजवादी कमजोर उहाँकै धोकाले भएको हो । स्थानीय तह निर्वाचनमा हामी इमानदारितापूर्वक लाग्यौं तर उहाँ फुटाउ र राज गर भन्नेमा लाग्नुभयो । स्थानीय तहमा पूरै गठबन्धन नबनाई अप्ठ्यारो सिर्जना गराएर जानुभयो । हामीले सबैतिर उम्मेदवारी दिन नसक्ने अवस्था बनाइयो ।’

कांग्रेसका राजेन्द्र र एमालेका उम्मेदवार हिमेशको घर कीर्तिपुरमा ५० मिटरको दूरीमा छ । एमालेका हिमेशले कांग्रेसका राजेन्द्रले १० वर्ष काठमाडौं-१० बाट संसद्मा प्रतिनिधित्व गर्दा विकास हुन नसकेको बताए । उनले नयाँ पुस्तालाई राजनीतिमा आउन रोक्ने काम राजेन्द्र भएको र आफ्नाबारे पनि भ्रम फैलाइएको आरोप लगाए । ‘उहाँले अहिले के भ्रम छरिराख्नुभएको छ भने उहाँ जित्नको लागि मलाई एमालेबाट टिकट ल्याइदिनुभयो । आफ्नै नेताहरूलाई मिलाउन नसक्ने उहाँले एमालेमा खेल्न सक्ने हैसियत राख्नुहोला ?,’ हिमेशले भने ।

राजेन्द्र भने काठमाडौं-१० मा अधुरा रहेका विकास योजना पूर्ति गर्न र राष्ट्रलाई राजनीतिक स्थायित्व दिनका लागि आफूलाई भोट मिल्ने बताएका छन् । ‘युवालाई कीर्तिपुर र दक्षिणकालीको पर्यटन र कीर्तिपुर तथा चन्द्रागिरीको उद्योग र पर्यटनमा रोजगारी सिर्जना गर्नका लागि मेरो उम्मेदवारी हो । त्यस्तै पुराना हजारौं योजना कार्यान्वयन छन् तिनलाई सम्पन्न गर्नका लागि पनि मलाई निर्वाचित गर्नुहुन्छ भन्ने लागेको छ,’ उनले भने, ‘मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि स्थायी सरकार दिनुपर्छ । २०७४ सालमा कम्युनिस्टहरूलाई झन्डै दुई तिहाई मत प्राप्त हुँदा पनि स्थायी सरकार दिन नसकेकाले यसपटक कांग्रेसलाई स्थायी सरकार निर्माण गर्नका लागि मतदान हुनेछ ।’

एमाले उम्मेदवार हिमेशले भने युवा र परिवर्तन काठमाडौं-१० ले चाहेकाले आफू निर्वाचित हुने दाबी गरेका छन् । एमाले राष्ट्रिय युवासंघको वडा कमिटीबाट राजनीति सुरु गरेका उनी अहिले युवासंघको स्थायी कमिटी सदस्य, केन्द्रीय प्रकाशन विभाग प्रमुख तथा काठमाडौं जिल्ला इन्चार्ज छन् । काठमाडौंमै रहेर पनि जुनस्तरमा विकासको अनुभव गर्नुपर्ने हो काठमाडौं-१० को कीर्तिपुर लगायतका क्षेत्रमा त्यो हुन नसकेकाले आफू आएको उनको भनाइ छ । ‘प्रतिस्पर्धीलाई भोट माग्न पनि अप्ठ्यारो स्थिति बनेको छ । यस क्षेत्रमा एकै व्यक्ति १० वर्ष सांसद भएपनि जनताको कुनै पनि माग, आधारभूत कुराको सम्बोधन गर्नुभएन,’ उनले भने । यस क्षेत्रमा सडक, ढल, खानेपानीको समस्या रहेकाले त्यसको समाधानका लागि आफूलाई जनताले निर्वाचित गर्ने उनले विश्वास व्यक्त गरेका छन् । ‘यहाँका जनताहरूले यो नेतृत्वले विकासको काम गर्दैन यसकारण युवालाई नै दिनुपर्छ भन्ने आवाज दक्षिणकालीको केराभारीदेखि थानकोटसम्म उठाइराखेका छन्,’ उनले भने । राजनीतिक दलहरूले विकास नगर्ने र देश बिगार्ने मात्रै गर्छन् भन्ने सन्देश प्रवाह भएको अवस्थामा समाजलाई अगाडि बढाउन युवाहरू राजनीतिक दलबाट नै तयार छन् भन्ने आफूले देखाउने उनको भनाइ थियो ।

काठमाडौं -१० मा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी अञ्जना विशंखे जनआन्दोलन सफल भएपछिको पुनर्स्थापित अन्तरिम व्यवस्थापिका सदस्य थिइन् । त्यसपछि उनी २०७४ सालमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएकी हुन् ।

काठमाडौं-१० का पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसार, पर्यावरणमैत्री प्रकृति र जडिबुटी जोगाउने, ‍बाह्य र आन्तरिक पर्यटकका लागि ट्रेकिङ र हाइक्षकिङ आफ्ना योजना रहेको विशंखेको भनाइ छ । उनले काठमाडौं -१० मा रहेको खानेपानी अभाव पूर्ति, ढल व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षण आफ्नो प्राथमिकतामा रहेको बताइन् । त्यस्तै, फर्पिङको हाइड्रोपावर संग्रहालय बनाउने पनि आफ्नो योजना रहेको उनको भनाइ छ ।

समानुपातिक सांसद हुँदा नीतिगत विभेद भई काम गर्न नसकेकाले यसपटक प्रत्यक्षमा उम्मेदवार बनेको विशंखेले बताइन् । काठमाडौं -१० का विभिन्न गाउँमा रहेका कुष्ठरोग पीडितहरूलाई निःशुल्क बीमाको व्यवस्था गर्नु पनि आफ्नो प्राथमिक एजेन्डा रहेको उनको भनाइ छ । ‘पार्टी जुनसुकै भएपनि चन्द्रागिरी र दक्षिणकालीका सबैले भन्न थालेका छन् कीर्तिपुर क्षेत्रले मात्रै नेतृत्व पाउने गर्छ । म सानैदेखि नेवारी भाषा र संस्कृति बुझ्ने र त्यससँग पनि परिचित छु । यहाँका जनताले १० वर्ष एकजनालाई हेरिसक्यौं अब नयाँ नेतृत्व हेर्न चाहन्छौं भन्नुभएको छ,’ उनले भनिन्,’ पार्टीगत रूपमा एक्लै लडेको भन्लान् तर अहिलेको अवस्थामा मसँग जनता छन् ।’ उनले स्थानीय तहको निर्वाचनमा जस्तो परिणाम आए पनि प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताले व्यक्ति हेर्ने भन्दै आफू निर्वाचित हुने विश्वास व्यक्त गरिन् ।

काठमाडौं-१० बाट ह्याट्रिक गर्ने दाउमा रहेका राजनले भने ‘प्रतिस्पर्धी पार्टीका एजेन्डा लिएर मैदानमा आएकाले सम्मान गर्ने तर जनमत आफ्नो पक्षमा रहेकाले विजयी बन्ने’ दाबी गरेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ