पालिकामा निर्वाचितहरूले आफ्नो पार्टीका उमेदवारको प्रचार गर्न नपाउने
थानकोट ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले पालिकामा निर्वाचितहरूले आफ्नो पालिकाभित्र उठेका आफ्नो पार्टीका उमेदवारको प्रचारप्रसार गर्न नपाउने जनाएको छ । अन्य पालिकामा गएर भने प्रचारप्रसार गर्न पाइनेछ ।
“पालिकामा निर्वाचितहरुले आफ्नो पालिकाभित्र आफ्नो दलको उमेदवारको प्रचारप्रसार गर्न पाउनुहुन्न,” निर्वाचन आयुक्त रामप्रसाद भण्डारी भन्छन्, “यसरी अर्को पालिकामा गएर प्रचार गर्दा पनि निर्वाचित प्रतिनिधिले सरकारी सम्पत्तिको प्रयोेग गर्न पाउने छैन् । पदीय हैसियतलाई बिर्सिएर व्यक्तिगत रुपमा मात्रै प्रचारप्रसारमा सहभागी हुन सकिनेछ ।”
सरकारी सम्पत्तिको निर्वाचन प्रचारमा पालिकाका प्रतिनिधि मात्रै नभएर संघ र प्रदेश सरकारका निर्वाचित प्रतिनिधिले पनि नपाउने आयुक्त भण्डारी बताउँछन् । पदीय दुरुपयोग गर्दै सरकारी सम्पत्ति प्रयोग गरेको पाइए कारबाही गर्ने उनको चेतावनी छ ।
निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको र त्यहीअनुसार अगाडि बढिरहेको पनि उनले स्पष्ट पारेका छन् ।













