कस्तो अवस्थामा मत बदर र सदर हुन्छ ? (भिडियो सहित)
थानकोट ।
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा खसेको मतको १ प्रतिशत भन्दा कम मत बदर हुने अनुमान गरेको छ । ‘यसपटक मतपत्र सजिलो बनाइएको छ । मतदान गर्ने तरिका पनि सजिलो छ । योपटक १ प्रतिशत पनि मत बदर हुँदैन । पहिले २/३ प्रतिशतसम्म मत बदर हुने गरेको थियो । योपटक मत बदर १ प्रतिशतभन्दा तल झार्छौं,’ प्रमुख आयुक्त दिनेश थपलियाले भने ।
मत बदर कम गर्न वडा स्तरबाट, इलेक्ट्रोनिक माध्यम, आमसञ्चार, सामाजिक सञ्जालबाट मतदाता शिक्षा लैजाने उनले बताए । ‘७५३ पालिकामा नमुना मतदान गर्ने योजना छ,’ उनले भने, ‘मत बदर शून्यमै झार्ने हो भने ई-भोटिङमा जानुपर्छ ।’ प्रत्येक निर्वाचनमा खसेको मतको २ देखि ५ प्रतिशतसम्म मत बदर हुने गरेको पाइन्छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने गरेको हो । गत ०७४ को चुनावमा प्रदेशतर्फ १५ प्रतिशतसम्म मत बदर भएको थियो ।
नेपालको निर्वाचन प्रणालीका कारण मत बदर हुने गरेको बताउँछन् आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल । ‘हरेक १०–१२ वर्षमा निर्वाचन प्रणाली बदलिएको छ । दुईवटा चुनावमा भोट हालेपछि फेरि अर्को प्रणाली आउँछ । यसले मतदाता अभ्यस्त हुन पाएको छैन । मतदाताले विगतमा हालेको मत सम्झेर फेरि हाल्न पाएको छैन । यसले बदर बढेको हो,’ उनी भन्छन् ।
कस्तो अवस्थामा मत बदर हुन्छ ?
–मतपत्रमा मतदान अधिकृतको सही छैन भने त्यो मत बदरमा गणना हुन्छ । त्यसैले मतपत्रमा मतदान अधिकृतको सही हुनुपर्छ ।
–एउटा चिह्नमा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने ठाउँमा दुईवटा चिह्नमा छाप लगायो भने मत बदर हुन्छ ।
–स्वस्तिक छाप नबुझिनेगरी लतपतिएको छ, प्रष्ट छैन भने पनि बदर हुन्छ ।
–दुईवटा चिह्नको बीचमा छाप लगायो भने पनि बदर हुन्छ ।
– औँठा छाप लगाए पनि बदर हुन्छ ।
कसरी हाल्ने त भोट ?
पहिलो :
–प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सेतो पृष्ठभूमिमा रातो रंगमा निर्वाचन चिह्न भएको मतपत्र लिने ।
–स्वस्तिक छाप कुनै एक उम्म्मेदावरको चिह्नमा लगाउने ।
–मतपत्र सही ढंगले पट्याउने र सेतो पृष्ठभूमिमा रातो रंगले लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्ने ।
दोस्रो:
प्रतिनिधिसभाको समानुपातिकको सेतो पृष्ठभूमिमा कालो रंगमा निर्वाचन चिह्न भएको मतपत्र लिने ।
–कुनै एक राजनितिक दलको चुनाव चिह्नमा स्वस्तिक छाप लगाउने ।
–मतपत्र सही तरिकाले पट्याउने । सेतो पृष्ठभूमिमा कालो रंगले दुई लिखिएको मतपेटिकामा हाल्ने ।
तेस्रो:
–प्रदेशसभाको प्रत्यक्षतपर्फको सेतो पृष्ठभूमिमा रातो रंगको चुनाव चिह्न भएको मतपत्र लिने ।
–स्वस्तिक छापले एक उम्मेदवारको चुनाव चिह्नमा लगाउने ।
–मतपत्र सही तरिकाले पट्याउने । र, सेतो पृष्ठभूमिमा रातो रंगले तीन लेखएको मतपेटिकामा हाल्ने ।
चौथो :
प्रदेशको समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो रंगको चुनाव चिह्न भएको मतपत्र लिने ।
–स्वस्तिक छापले एक राजनतिक दललको चिह्नमा लगाउने ।
मतपत्र सही तरिकाले पट्याउने र, सेतो पृष्ठभूमिमा कालो रंगले चार लेखिएको मतपत्रमा हाल्ने ।














