भोट मागेको भिडियो श्यर गर्दा ‘भाइरल’ वडाध्यक्षलाई निर्वाचन आयोगले ५ हजार जरिवाना तिरायो
थानकोट ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगले कारबाही गरेको छ।
आयोगले निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गरेको हो।
१२ असोजबाट आचारसंहिता लागु भएपछि ७१ व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधेको आयोगले उल्लंघनमा गरेको यो पहिलो कारबाही हो।
आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि उम्मेदवार तथा दलको प्रचारमा सहभागी हुन नपाउने आचार संहिताको प्रावधान उल्लंघन गर्दै रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट माग्दै जिताउन अपिल गरेको भिडियो प्रमाणका आधारमा आयोगले कारबाही स्वरुप जरिवाना गरेको हो।
कारबाही अघि आयोगले सोधेको स्पष्टीकरणमा रिजालले कुनै पनि प्रचार प्रसारमा सहभागी नभएको जवाफ दिएका थिए।














