आइडिया स्टुडियोमा थानकोट निवासी अभिनाश र शान्ति
थानकोट ।
‘मेरो एफएम’मा घन्किदैँ थियो आइडिया स्टुडियोको विज्ञापन ।
त्यही विज्ञापन सुनेर कार्की दम्पती (अभिनाश र शान्ति) आइडिया स्टुडियो पुगे । आइडिया स्टुडियोले उद्यमीलाई प्रोत्साहन गर्नुका साथै उनीहरूको आइडियालाई उद्योगसम्म पुर्याउन सहयोग गर्दै आइरहेको छ ।
त्यस्तै, थानकोट बस्दै आएका अभिनाश गाडी चलाउँथे भने शान्ति पार्लर र टेलरिङ चलाउँथिन् । कोरोनाका कारण गाडीबाट खासै आम्दानी नभएपछि उनीहरूले अरु नै केही व्यवसाय गर्ने निर्णय गरे । दुवै जनाको सल्लाहपछि उनीहरूले कपडा पसल सञ्चालन गरेका हुन् । आफ्नो व्यवसायलाई कसरी विस्तार गर्ने भन्नेबारे आडिया लिन यतिबेला कार्की दम्पती आइडिया स्टुडियो पुगेका छन् ।
कार्की दम्पतीले त्रिमूर्ति कपडा पसल सञ्चालन गरेको ३ वर्ष भइसक्यो । होलसेल पसल र गार्मेन्टबाट उनीहरूले कपडा ल्याउने गरेका छन् । कार्गाे भ्यानमा कपडा राखेर चोकचोकमा बेच्ने गरेको सञ्चालक अभिनाश कार्कीले बताएको शिलापत्रमा खबर छ । उनीहरूले अर्डरअनुसार पसलपसलमा कपडा पुर्याउने पनि गरेका छन् । हाल ज्याकेट, सुरुवाल, टिसर्ट, हुडी, पेन्टलगायतका कपडा सप्लाई गर्दै आइरहेको शान्तिले बताइन् ।
‘अहिले हामीले रेडिमेट कपडा ल्याएर ग्रहाकलाई सप्लाई गर्ने गरेका छौँ । हाम्रो चाहना भनेको आफ्नै गार्मेट सञ्चालन गर्ने र अर्डरअनुसारका कपडाहरू बनाउने हो,’ शान्ति भन्छिन् ।
सानो छँदादेखि नै गाडी चलाउँदै आएका उनको कमाइ राम्रै थियो । ‘मसँग तीनवटा ट्याक्सी थिए । रिजर्भमा चलाउने गरेको थिएँ,’ अभिनाश भन्छन्, ‘कोरोनाका कारण खासै कमाइ नभएपछि गाडी बेचेर कपडा पसल सुरु गरेको हुँ ।’
एसएलसीपछि गाडी चलाउन सुरु गरेका उनले अध्ययनलाई भने अघि बढाउन सकेनन् । १० हजार रुपैयाँ लगानी गरेर सुरु गरेको कपडा पसलमा अहिले १७ लाखभन्दा माथि लगानी भइसकेको उनी बताउँछन् ।
‘लगानी सानो भए पनि अहिले दिनको २/३ हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ,’ खुसी हुँदै शान्तिले भनिन् । शान्ति र अभिनाश दुवै जनाले टेलरिङसम्बन्धी ट्रेनिङ पनि लिइसकेका छन् ।
पसलमा २५० देखि २८ सय रुपैयाँसम्मका कपडाहरू रहेको अभिनाशले बताए ।
उनका अनुसार गाउँमा अलि सस्तो कपडा खोज्ने भएकाले सस्तो र महँगो दुवै किसिमका कपडा पसलमा उपलब्ध छन् । शहरमा भन्दा गाउँमा अलिक बढी कपडा बिक्री हुने गरेको उनको अनुभव छ ।
अहिले व्यवसाय विस्तारसम्बन्धी आइडिया लिन कार्की दम्पती आइडिया स्टुडियो पुगेका छन् ।














