भष्मेश्वर घाटबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन

Thankot Times

थानकोट ।

पशुपति क्षेत्रको भष्मेश्वर घाट क्षेत्रबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४९५ औँ हप्ताका अवसरमा पशुपति क्षेत्रमा शुक्रबार हरिबोधिनी एकादशीमा भक्तजनले चढाएको फूलपाती प्रसाद टपरी आदि सफाइ गरिएको थियो ।

भष्मेश्वर घाटबाट निस्केको कुहिने फोहरलाई खाल्डो खनी वाग्मती किनारमा पुरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । नकुहिने फोहर दुई टन काठमाडौं महानगरपालिका वातावरण विभागको ट्रकमा राखी व्यवस्थापन गरिएको थियो ।

सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, पूर्वमुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती समितिका आयोजना प्रमुख सुवास बस्नेत, वाग्मती सफाइ अभियानका सूत्रधारद्वय अभियानकर्मी डा राजु अधिकारी र नारायणकुमार श्रेष्ठ, वाग्मती अभियाकर्मीहरू डा माला खरेल, गोविन्द काफ्ले, प्रिया लामिछाने, प्रमिला पौडेल, दुर्गा रावललगायतको सक्रियता थियो ।

सफाइमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी, तिलगङ्गा महिला समूह,  आलोक नगर समुदाय, वाग्मती फोहर उन्मूलन उपभोक्ता संस्था, स्थानीयवासी एवं पशुपति दर्शन गर्न आउने भक्तजनको पनि सफाइमा सक्रियता थियो ।

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीय र जनप्रतिनिधिको पनि सहभागिता जुट्ने गरेको छ ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

सफाइ अभियान जारी रहे पनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ । स्थानीय सरकारको बेवास्ताले अभियानले गरेको सफाइ दिगो हुन नसकेको अभियानकर्मीको गुनासो छ ।

रासस

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *