रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिंदै देउराली सहकारी
थानकोट ।
बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि ललिपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाले बचतकर्तालाई जग्गा पास गरिदिएको छ ।
सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधिलाई सहकारीले नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताए ।
बचतकर्ता प्रतिनिधि कमिटीमा रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्डर्स एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको कमजोरीका कारण देउराली बहुउद्देशीय सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्याग्रस्त अवस्थामा रहेकोले ठूला बचतकर्ताहरुलाई जग्गा दिने कामको थालनी गरिएको सहकारीले जनाएको छ ।












