बाटो नहुँदा सुरु भएन मेलम्ची खानेपानीको काम, पुसमै काठमाडौं आउनेमा शंका

Thankot Times

थानकोट । 

मेलम्चीको खानेपानी पुनः काठमाडौं उपत्यका ल्याउनेबारे अन्योल कायमै छ । बाटो अवरुद्ध हुँदा अहिलेसम्म खानेपानीको मुहानसम्म पुग्न नसकिएको हो । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरका अनुसार वर्षायामको बाढी र पहिरोले मुहानसम्म जाने सडक भत्काएकाले कुनै पनि काम सुरु हुन सकेको छैन् । 

“अहिले मुहानसम्म जाने बाटो छैन । वर्षायामको समयमा आएको बाढीका कारण मुहानसम्म जान सडक छैन । सडक बनाएपछि मात्रै कहिले काठमाडौंमा पानी ल्याउन सकिन्छ भन्नेबारे भन्न सकिन्छ,” कुँवरले भने ।

प्रि–मनसुन’ सिजन सक्रिय भएपछि गत जेठ १७ गते समितिले अम्बाथानस्थित मेलम्ची खानेपानीको मुल ढोका बन्द गरेको थियो । समितिले बन्द गरिएको सुरुङको ढोका दसैँंतिहार पछि खोल्ने बताएको थियो । तर, नियमित वर्षा रोकिँदा पनि मुहानसम्म समिति पुग्न सकेको छैन ।
 
०७८ असार १ गते आएको बाढीले क्षतिग्रस्त भएको खानेपानीको मुहानको गेग्रान सफा र संरचना पुनःनिर्माणपछि अस्थायी रुपमा पानी सुरुङमा पठाइएको थियो ।
 
२२ वर्षको प्रतीक्षापछि गत वर्ष चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको थियो । तीन महिनापछि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याउँदा पानी वितरण पुनः रोकिएको थियो ।

खानेपानी आयोजना पुनःनिर्माणका लागि ३६ करोड ४५ लाख ३३ हजार रुपैयाँ छुट्याएको थियो । अहिलेसम्म खानेपानी आयोजनामा २० अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
 
कुँवरका अनुसार सडक बन्नका लागि करिब २५ देखि ३० दिनसम्म लाग्ने बताए । “सडक खुलेपछि गेट अगाडि थुप्रिएको गेग्रान हटाउनेबाहेक अन्य काम छैन् । त्यसपछि पुनः पानी काठमाडौं पुर्याउछौँ,” उनले भने ।

चरणवद्ध रुपमा १७ करोड लिटर पानी वितरण हुँदै गर्दा उपत्यकाबासीले धेरै हदसम्म पानी आपूर्ति भएको थियो । पुसमै पानी ल्याएपछि यांग्री र लार्के खोलाको पानी ल्याउने तयारी थालिने समितिले जनाएको छ ।

बाह्रखरीबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *