मकवानपुर-२ मा भोट माग्दै हिंडेका समाजवादीका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ ।

मनहरी गाउँपालिका वडानम्बर-४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा मंगलबार पूर्वमन्त्री समेत रहेका नेता खतिवडामाथि दुर्व्यहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र व्यवहार गर्ने पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले घट्नाबारे थप जानकारी लिने काम भइरहेको बताए ।

यसै बीच मकवानपुर-२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडाले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने निश्चित देखेपछि अत्तालिएका एमालेजनले चुनावी सभामा जाँड खुवाएर मान्छे पठाएको आरोप लगाएका छन् । मनहरीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै खतिवडाले एमालेहरूले आफ्नो मुख देखाउन नसकेर जाँड खुवाएर मान्छे पठाएको दाबी गरेका हुन् ।

‘हिम्मत भए आमनेसामने आऊ, राजाका विरुद्ध, केपीका विरुद्ध लड्ने ज्यान यही हो’, उनले भने ‘राजा पछार्ने, केपी पछार्ने मान्छेलाई यस्ता सानातिना खत्र्याकखुत्रुक कुराहरूले फरक पर्दैन ।’ खटाइएका र जाँड खाएर सभा बिथोल्न आएका मान्छे आफै पछारिएको भन्दै  उनले यस्ता कुराले केही फरक नपर्ने बताए । केपीको ज्यादती र उद्दण्डताका विरुद्ध सधैँ लड्न तयार रहेको उनले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ