काठमाण्डाैमै घरधनीलाई बन्धक बनाएर लुटपाट
थानकोट ।
काठमाडौँको बसुन्धारामा गए राति लुटपाट भएको छ । बंगलादेश राजदूतावास नजिकैको बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६-७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् ।
लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७ बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए ।
४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ ।












