आम निर्वाचन-२०७९: देशभर मतदान सुरु
थानकोट ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।
निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।
एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।
यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।














