तोलामा १ सय रूपैयाँले सस्तियो सुन
थानकोट ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु. ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार पाँच सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार दुई सय ८५ कायम रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।












