यी हुन् बागमती प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित पाँच महिला

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ ६६ सीट रहेको छ। १३ जिल्ला रहेको प्रदेशमा दोलखा बाहेकको नतीजा आइसकेको छ। निर्वाचित महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का दुई-दुई र तथा नेकपा (एकीकृत समाजवादी)का एक छन्।

माओवादी केन्द्रबाट मकवानपुर-२ ‘क’ की उम्मेदवार कुमारी मोक्तान निर्वाचित भएकी छन्। बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी ४३ वर्षीया मोक्तानले नेकपा (एमाले)का विष्णुप्रसाद ढकाललाई ३०२ मतान्तरले पराजित गरेका हुन्। उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरबाट विजयी भएकी थिइन्। मोक्तान हेटौंडा उपमहानगरपालिका-१३ ठूलोथलीकी हुन्।

माओवादी केन्द्रबाट निर्वाचित अर्की उम्मेदवार राधिका तामाङ हुन्। बागमती प्रदेश सभाकी उपसभामुख ३९ वर्षीया तामाङ नुवाकोट-१ ‘क’ बाट निर्वाचित भएकी हुन्। उनले एमालेका सुशीलकुमार खड्कालाई चार हजार ८१९ मतान्तरले पराजित गरेकी हुन्। तामाङले १६ हजार १६९ मत र खड्काले ११ हजार ३५० मत प्राप्त गरेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिकाकी तामाङ संविधानसभा सदस्य समेत हुन्। उनी सोही समयमा उनी संघीय सरकारको राज्यमन्त्री समेत भएकी थिइन्।

कांग्रेसबाट निर्वाचत हुने उम्मेदवारहरू मसिना खड्का भण्डारी र हरिप्रभा खड्गी हुन्।  सिन्धुपाल्चोक-१ ‘क’ बाट निर्वाचित ५४ वर्षीया खड्काले एमालेका युद्धविक्रम तामाङलाई एक हजार १६२ मतान्तरले पराजित गरेकी हुन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाकी उनले १४ हजार ६५२ मत प्राप्त गरेकी छन्।  काठमाडौं-६ ‘क’ बाट निर्वाचित कांग्रेसकी खड्गीले एमालेका नीरेशलाल सिंह महर्जनलाई पराजित गरेकी हुन्। काठमाडौं महानगरपालिकाकी पूर्व उपमेयर ५५ वर्षीया खड्गीले चार हजार ३५६ मत र निकटतम प्रतिस्पर्धी एमालेका महर्जनले तीन हजार ९३६ मत प्राप्त गरेका छन्। खड्गी मुख्यमन्त्रीको दाबेदार समेत हुन्।
काठमाडौं-१० ‘ख’ बाट एकीकृत समाजवादीकी रमा आले मगर निर्वाचित भएकी छन्। उनले एमालेका रामशरण आले मगरलाई पराजित गरेकी हुन्। यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित रमा आलेमगरले पाँच हजार ८१० मत र रामशरण आलेमगरले पाँच हजार १८४ मत प्राप्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *