बागमती प्रदेशको मुख्यमन्त्रीमा केशव पोखरेलसहित ६ जना आकांक्षी
थानकोट ।
बागमती प्रदेशमा प्रत्यक्षतर्फ ६६ सिटका लागि निर्वाचन सम्पन्न भएको छ ।
४४ सामानुपतिकसहित प्रदेशसभामा ११० जना सांसद रहनेछन् । गत निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेस अहिले पहिलो दल बनेको छ । यसअघि पहिलो स्थानमा रहेको एमाले भने तेस्रो स्थानमा पुगेको छ । माओवादी केन्द्र भने यसअघिकै स्थानमा कायम छ ।
दोलखाको २ वटा क्षेत्रको बाहेक १२ जिल्लाको ६४ वटा क्षेत्रको मतगणना सम्पन्न हुँदासम्म कांग्रेसले प्रत्यक्षतर्फ २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४, एकीकृत समाजवादीले ५ गरी कुल ४३ सिट जितेको छ ।
एमालेले १२ सिट जित्दै तेस्रो ठुलो दल भएको छ भने राप्रपाले ७, नेकपा हाम्रो नेपाली पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय हासिल हात पारेको छ । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सरकार निर्माणका लागि ५६ सिट आवश्यक छ । दोलखाको २ क्षेत्रको परिणाम आउन बाँकी रहँदा पनि प्रत्यक्षमा पाएको सिट र समानुपातिकमा प्राप्त मतका आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन स्पष्ट बहुमत देखिएको छ ।
बागमती प्रदेशको आगामी मुख्यमन्त्रीका लागि ४ वटा दलबाट ६ जनाको दाबेदारी रहेको छ । मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको दलहरूबाट ४ जना र एमालेबाट २ जनाले आकाङ्क्षा व्यक्त गरेका छन् ।
सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसबाट इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् भने माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्मा खनाल एक्ला दाबेदार हुन् ।
त्यस्तै एमालेबाट केशवप्रसाद पोखरेल, जगनाथ थपलिया आकाङ्क्षी रहेका छन् । निर्वाचन अघि नै बागमती प्रदेशको दाबेदारको रूपमा रहेका एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाँल र देवी ज्ञवाली पराजित भएपछि उनीहरूले आकाङ्क्षा देखाएका हुन् ।














