प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली काँग्रेस पहिलो दल
थानकोट ।
मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएको छ ।
देशका सातवटै प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ नेपाली काँग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ।
मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा काँग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ काँग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ-नौ स्थानमा विजयी भएका छन्।
प्रदेश सभाको १ सय ११ स्थानमा विजयी हुँदै नेपाली काँग्रेस ठूलो दल बन्दा नेकपा (एमाले) ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११-११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले ७-७ तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १-१ स्थानमा जित हासिल गरेका छन्। प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
रासस














