काठमाडौंको तापक्रम घट्दै, चिसो बढ्दै

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.८ डिग्री मापन गरिएको छ। यस्तै, अधिकतम तापक्रम १९.९ डिग्रीको अनुमान गरिएको छ।

मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद् हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ।

अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।

हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको ।

तराईका जिल्लामा लागेको हुस्सु अब बिस्तारै पहाडी जिल्लामा बढ्दै जानेछ।

मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ। बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ। अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महशुस हुन थालेको उनले बताए। हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ५, जुम्लामा माइनस ३.८, र जिरीमा १.८ रहेको छ।

पानी पर्‍यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् । देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *