केटा पक्षले इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरेपछि…

Thankot Times

थानकोट ।

केटा पक्षले इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरेपछि एक युवतीले आफैंलाई आगो लगाएकी छिन् । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने काठमाडौँ महानगरपालिका-१० बानेश्वर बस्ने २७ वर्षीया पुष्पा न्याैपाने हुन् । उनी दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका भएको बताइएको छ ।

२७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीका सुधन सङ्ग्रौलासँग भदौ १८ मा इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले कार्तिक १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे । त्यसपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो ।

पुष्पाले १८ मङ्सिरमा सङ्ग्राैलाको घर अगाडी गएर पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी थिइन् ।

प्रहरीले उद्धार गरेर उनलाई त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । शिक्षण अस्पतालले उनलाई कीर्तिपुरमा रिफर गरेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा हिजो सोमबार उनले ज्यान गुमाइन् ।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले सुधन तथा परिवारका थप ३ जनालाई पक्राउ गरेको छ । सुधनविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताएको रातोपाटीमा खबर छ । अदालतले सुधन बाहेक अरूलाई जिम्मा जमानीमा छाड्न आदेश गरेको छ ।

घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *