चन्द्रागिरि साकोसमा गोएएमएल प्रशिक्षण सम्पन्न
थानकोट ।
चन्द्रागिरि नगरपालिका-७ स्थित चन्द्रागिरि साकोसले सम्पत्ति शुद्धिकरण जोखिम व्यवस्थापन तथा कार्यान्वयन र गोएएमएल रिपोर्टिङ प्रशिक्षण कार्यक्रमको सम्पन्न गरेको छ ।
संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारी व्यवस्थापनका सबै सदस्यहरुले एएमएल सीएफटी सम्बन्धी तालिम प्राप्त गरेका हुन् । यस अघि विभिन्न संघ संस्थाले आयोजना गरेका तालिमहरुमा संस्थाका सम्बन्धित अधिकारीहरुले तालिम लिएका थिए ।
नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभागले २०७४ सालमा जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशन अनुसार सुरुको समयदेखि नै संस्थाले तत्सम्बन्धी प्रावधानहरु लागु गर्दै आईरहेको जनाएको छ ।
प्रशिक्षणमा नेपाल राष्ट्र बैंक तथा वित्तीय जानकारी ईकाई सहित ३० वर्ष भन्दा बढि समयको अनुभव संगालेका विषयविज्ञ प्रदिप भट्टराई र डेटम सिस्टम्स प्रालिका प्रमुख कार्यकारी अधिकृत गिरिस दाहालले सहजीकरण गरेका थिए ।
संस्थाले सञ्चालक तथा कर्मचारीहरुलाई समय समयमा यस सम्बन्धी पुनर्ताजगी प्रशिक्षण र नयाँ कर्मचारीहरुलाई विस्तृत तालिम प्रदान गर्ने गरेको छ ।












